Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

चर्चामा ‘क्रिप्टोकरेन्सी’ : भर्चुअल मुद्रालाई प्रतिबन्ध वा नियमन के गर्ने भन्ने अलमल


 शाब्दिक रुपमा हेर्दा क्रिप्टोकरेन्सी क्रिप्टो (गोप्य, गुप्त गूढ वा रहस्य) र करेन्सी अर्थात् मुद्रा भन्ने दुई वटा शब्द मिलेर बनेको हो । यसरी हेर्दा संकेत (कोड वा क्रिप्टोग्राफी) का माध्यमबाट विनिमयका रुपमा प्रयोग गरिने विद्युतीय वा भर्चुअल मुद्रा नै क्रिप्टोकरेन्सी हो । विनिमयको माध्यमका रुपमा हाल प्रचलनमा रहेका नोट वा सिक्का जस्तो यसको भौतिक अस्तित्व भने हुँदैन । 

भौतिक अस्तित्व नरहने हुनाले यसलाई छुन, खल्तीमा राख्न वा पट्याउन सकिने कुरा भएन । भौतिक उपस्थिति नरहने अनि सुरक्षणका लागि बैंक तथा वित्तीय संस्थाहरुले दायित्व वोध नगर्ने कारणले धेरै देशमा यसलाई अवैधानिक मानिएको छ । 

राष्ट्र बैंकद्वारा चेतावनी 

नेपाल राष्ट्र बैंकले २०७४ साउन २९ गते सूचना निकालेर नेपालमा भर्चुअल मुद्रा तथा त्यसका कुनै पनि प्रकारको कारोबार अवैध रहेको जनाएको थियो । हालै भर्चुअल मुद्राको कारोबार बढेसँगै नेपाल राष्ट्र बैंकले एक हप्ता अघि भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सीका बारेमा फेरि अर्को सूचना प्रकाशित गरेको छ । 

सूचनामा भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सीले नेपालमा वैध मान्यता नराख्ने हुँदा यस्ता कारोबारमा संलग्न रहँदा सर्वसाधारण ठगिने, पुँजी पलायन हुने हुँदा नेपालमा बस्ने नेपाली तथा विदेशी साथै विदेशमा बस्ने नेपाली नागरिक समेत यस्तो कारोबारमा संलग्न रहेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराएको थियो । 

त्यस्तै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था बैंकर्स संघले पनि क्रिप्टोकरेन्सी जस्ता भर्चुअल मुद्राको कारोबार नगर्न सचेत गराएको छ । संघले पनि सार्वजनिक सूचना निकाल्दै नेपालमा अवैध रहेको भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी साथै नेटवर्क मार्केटिङ लगायतका गैरकानुनी वित्तीय कारोबारमा संलग्न नरहन आव्हान गरेको छ । 

चर्चामा क्रिप्टोकरेन्सी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा विदेशबाट प्राप्त हुने रेमिट्यान्स ६.८ प्रतिशतले घटेर ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँमा समेटिएको जनाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा भने विदेशबाट प्राप्त हुने रेमिट्यान्स ११ प्रतिशतले बढेको समेत राष्ट्र बैंकले जनाएको छ । 

देशको अर्थ व्यवस्थाको एउटा मेरुदण्डको रुपमा रहेको रेमिट्यान्स घट्दै गएपछि राष्ट्र बैंकले यसको सुक्ष्म अध्ययन थालेको थियो । यस अवधिमा वैदेशिक रोजगारमा जाने श्रमिकको संख्यामा कमी नभए पनि रेमिट्यान्समा कमी हुनुको कारण विदेशमा रहेका नेपालीले अहिले चर्चामा रहेको भर्चुअल मुद्रा अर्थात क्रिप्टोकरेन्सीमा लगानी एउटा हुनसक्ने भनाइ छ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टको । 

क्रिप्टोकरेन्सीमा लगानी गरेका कारण रेमिट्यान्स घटेको ठहरमा राष्ट्र बैंक पुग्नु, नेपालमा प्रतिबन्धित हुनु, राष्ट्र बैंकले कारबाहीको सूचना निकाल्नुले पछिल्लो समय भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी अनि बिटक्वाइनले नेपाली बजारमा चर्चा पाएको  छ ।

क्रिप्टोकरेन्सी अहिले चर्चामा रहनुका अन्य कारण पनि छन् जसमा अघिल्लो हप्ता मंगलबार भारतकी अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गर्नुभएको बजेटमा भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डियाले डिजिटल मुद्रा निकाल्ने प्रस्ताव गरेबाट पनि भएको हो । सीतारमणको अर्को प्रस्तावमा क्रिप्टोकरेन्सीमा गरिएको लगानीबाट हुने आम्दानीमा ३० प्रतिशत कर लगाउने घोषणा गरिएको छ । 

भारतका चर्चित अभिनेता अमिताभ बच्चनले एक वर्ष अगाडि १.१२ करोड भारतीय रुपैयाँ क्रिप्टोकरेन्सीमा लगानी गरेको र त्यसको प्रतिफलको रुपमा अहिले बढेर १ सय १२ करोड रुपैयाँ भएको भन्ने समाचार प्रकाशनमा आएसँगै पनि क्रिप्टोकरेन्सी थप चर्चामा छ । 
नेपालमा क्रिप्टोकरेन्सी अवैधानिक हुनु र रेमिट्यान्स घट्नुलाई अहिले सँगै जोडेर हेरिएको बताउनुहुन्छ अर्थविद डा. रघुवीर बिष्ट । रेमिट्यान्स किन घट्यो भन्ने प्रसंगमा मात्र राष्ट्र बैंकको जोड रहेको र कतै क्रिप्टोकरेन्सीमा लगानी भएका कारण रेमिट्यान्स घटेको हो कि भन्ने बुझाइमा राष्ट्र बैंक पुगेका कारण अहिले यसका चर्चा परिचर्चा धेरै भएको बिष्टको धारणा छ ।  

डिजिटल करेन्सीको परिकल्पना सन् १९८३ मा गरिएको थियो भने मैसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) ले पछि यसलाई अध्ययनको विषय बनाएको तथा सन् २००९ देखि भने यो चर्चामा रहेको बताउनुहुन्छ डा.बिष्ट । 

संसारमा ९ हजार भन्दा बढी प्रकारका क्रिप्टोकरेन्सी रहेको छ । क्रिप्टोकरेन्सीका अहिलेका चर्चित प्रकारमा बिट क्वाइन, इथेयिरम, टिथर, बाइनान्स क्वाइन, रिपल, एक्सआरटी, बिटक्वाइन क्यास लगायत दशवटा प्रकार चर्चामा रहेका छन् । यी मध्ये सबैभन्दा चर्चामा रहेको चाहिँ बिटक्वाइन हो । 

उत्पादन प्रकृया वा माइनिङ 

क्रिप्टोकरेन्सी उत्पादन प्रक्रिया अथवा उत्खननलाई भर्चुअल मुद्राको भाषामा माइनिङ भनिन्छ । यसका उत्पादकहरुले कम्प्युटरको माध्यमबाट जटिल क्रिप्टोग्राफिक रहस्यहरु समाधान गरेर ब्लकचेन नामक सार्वजनिक खातामा त्यसको अभिलेख राख्ने काम गर्छन् । यस्ता जटिल क्रिप्टोग्राफिक रहस्यहरु जति समाधान गर्न खोज्यो त्यति नै जटिल बन्दै जान्छ र कुनै पनि क्रिप्टोकरेन्सी लोकप्रिय बन्न पुग्छ । नोट वा सिक्का टक्सारमा छापे जस्तै कम्प्युटरबाट जटिल रहस्यहरु समाधान गरेर भर्चुअल मुद्रा वा क्रिप्टोकरेन्सी उत्पादन प्रक्रिया नै उत्खनन्, उत्पादन वा माइनिङ हो  ।

वैकल्पिक बजार

अहिले हेर्दा विश्वमा क्रिप्टोकेरन्सीको बजार वैकल्पिक बजारको रुपमा आएको देखिन्छ । अहिले क्रिप्टोकेरन्सीको बजार ९.३ ट्रिलियन डलरको बजारको रुपमा रहेको छ अहिले । यो भनेको सुनचाँदी बजारको २३ प्रतिशत, वैश्विक कारोबारको रुपमा १.४ प्रतिशत कारोबार, रहेको, शेयर बजारको रुपमा ५.१ प्रतिशतको बजारको रुपमा क्रिप्टोकेरन्सीको बजार  उदाएको देखिन्छ । त्यसकारण पनि यसलाई सानो बजारको रुपमा आँक्न नहुने तर्क छ बिष्टको । 

अमेरिकाले यसलाई १५ वटा राज्यमा मान्यता दिएको छ । बेलायतमा यसलाई कसरी नियन्त्रण र नियमन गर्ने भनेर अध्ययन भइरहेको छ । एलसाल्भाडोर र क्युबाले यसलाई वैधानिकता दिएका छन् । भारतले यसमा न त प्रतिबन्ध लगाएको छ न त वैधानिक मान्यता नै दिएको छ । ३० प्रतिशत कर लगाउने घोषणा गरे पनि उसले यसलाई वैधानिक घोषणा गरेको छैन । 

नियमन र नियन्त्रणको अभाव

जसले क्रिप्टोकरेन्सी उत्पादन गरेका छन् उनीहरुको तर्क के छ भने यो एकदमै सुरक्षित, भरपर्दो, विश्वसनीय तथा दुरुपयोग गर्न सकिंदैन । अहिले युरोप, अमेरिका वा अन्य देशको चिन्ताको विषय भनेकै यसलाई कसरी नियमन र नियन्त्रण भन्ने मुख्य कुरा हो । 

अफ्रिकामा क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाएर मान्छेहरु भागेका दुई वटा घटना दर्ता भएको अवस्था हो । यसमा ५ करोड तथा ८ करोड डलरको अपचलन भएको थियो । त्यसकारण अरु राष्ट्रहरु यो घटनाबाट तर्सिएको अवस्था हो । यसमा तेस्रो पक्ष नहुने हुँदा अहिले तेस्रो पक्षको रुपमा सरकारलाई संलग्न गराएर नियमन गरिने प्रयास भैरहेको छ । तर, यस्ता माध्यमहरु अवैध धन लगानी गर्ने सुरक्षित माध्यम मानिएकोले वैध ढंगले काम गरेर आर्जन गरिरहेकालाई भने यसले डुबाउन पनि सक्छ । 

मुख्य कुरा भनेको जुन जुन देशले यसलाई वैधानिक मान्यता दिएका छन् त्यो देशमा राज्य लगानीकर्ताको सुरक्षाका लागि पछाडि बसेको अवस्था देखिन्छ । तर, राष्ट्र बैंकको तथ्याँक अनुसार पनि ६ महिनाको लागि मात्र विदेशी विनिमय सञ्चिती रहेको अवस्था छ । त्यसकारण पनि नेपालले भने क्रिप्टोकरेन्सीमा कडाइ गर्नु आवश्यक छ र विदेशी मुद्रा अर्थात डलरको खाता रहेका नेपालीलाई केही कडाइ गर्नुपर्ने अवस्था देखिन्छ । नेपालमा प्रतिवर्ष दुई खर्ब कारोबार तथा १० हजार भन्दा बढी मानिस क्रिप्टोकरेन्सीमा संलग्न रहेको समाचार आइरहेको छ । 

सन् २०११ मा एक डलर मूल्यबाट सुरु भएको बिटक्वाइनको मूल्य गएको अक्टोबर महिनामा एक बिटक्वाइन बराबर ६६ हजार डलर भन्दा बढी पुगेको थियो । अहिले भने बजारमा मूल्य घटेर एक बिटक्वाइनको मूल्य ३८ हजार डलरभन्दा बढी छ । 

हामी भौतिक रुपमा मुद्राको उपयोगमा कमि ल्याउने तथा मुद्रा रहित कारोबारमा अन्ततः जानै पर्ने हुनाले यसलाई अवैध ठहर गरेर पन्छिने भन्दा पनि यसलाई नीति, नियम बनाएर कानुनको बाटोमा कसरी ल्याउने भन्ने कुरा नै आजको मुख्य चुनौती हो । 

बिटक्वाइनको सुरुवात

बिटक्वाइनको सुरुवातकर्ता सातोसी नाकामोतोलाई मानिन्छ । झट्ट नामले नाकामोतो जापानी नागरिक भन्ने लागे पनि को हुन्न भन्ने विषय रहस्यकै गर्भमा छ । सन् २००८ मा नाकामोतोले इन्टरनेटमा बिटक्वाइनका बारे एउटा श्वेतपत्र जारी गरे । जारी श्वेतपत्रमा बिटक्वाइन्का मुख्य तीनवटा विशेषता थिए । पहिलो भनेको बिटक्वाइन कुनै पनि देशको सरकारको नियन्त्रणमा नभइ प्रयोगकर्ताको नियन्त्रणमा हुन्छ । 

दोस्रो भनेको प्रयोगकर्ताको नियन्त्रणमा रहने हुनाले बिटक्वाइन आदान–प्रदानका लागि बैंक तथा कुनै वित्तीय संस्थाको जरुरत पर्ने छैन । त्यसकारण पनि निकै कम शुल्कमा र छिटो बिटक्वाइनको आदान–प्रदान हुन्छ । 

तेस्रो भनेको इन्टरनेटका माध्यमबाट वा भर्चुअल रुपमा कारोबार हुने भए पनि यो निकै सुरक्षित छ । नाकामोतो को हुन् भन्ने रहस्यमै रहे पनि उनले सन् २००९ मा पहिलो     बिटक्वाइन उत्पादन गरेको मानिन्छ । 

संसारभर २ करोड १० लाख बिटक्वाइन उत्पादन (माइनिङ) गर्न सकिने भनेर नाकामोतोले संख्या नै तोकेका थिए । त्यसमध्ये अहिले १ करोड १० लाख उत्पादन (माइनिङ) भइसकेको छ । अब २० लाख बिटक्वाइन उत्पादन (माइनिङ) भएपछि यसको उत्पादन बन्द हुने र कारोबार मात्र हुनेछ । यसबाहेक अरु क्रिप्टोकरेन्सीको उत्पादन (माइनिङ) भने जारी रहन्छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded