तिलक गुरुङ
वालिङ, स्याङ्जाको वालिङ नगरपालिका ५ मा दलित महिलाहरुका लागि ४ दिने सचेतना तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । दलित उत्थान सञ्जाल वालिङ ५ को आयोजना तालिम भएको तालिमको मंगलबार समापन गरिएको छ ।
तालिमको समापन गर्दै वालिङ ५ का वडा अध्यक्ष ढाकाराम पंगेनीले समुदायको उत्थानको लागि सचेतना अपरिहार्य रहने बताउनुभयो । पंगेनीले सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमले थप जागरुक गराएर समाजलाई उन्नती तर्फ अघि बढाउने उल्लेख गर्नुभयो । कार्यक्रममा वालिङ नगर कार्यपालिका सदस्य जमुना केसी, नेपाली कांग्रेस वालिङ ५ का सभापति छवि आले, वडा सदस्य अनिता नेपाली, वडा सदस्य केश बहादुर थापा, प्रशिक्षक तारा कुमारी शर्मा, वडा सचिव डोल जङ गुरुङ र समाजसेवी थमन वि.क.ले शुभकामना व्यक्त गर्दै सिकेका कुरा व्यवहारमा लागु गर्न सके मात्र तालिमको औचित्य रहने बताएका थिए ।
तालिममा सहभागी शान्ती नेपाली, कुमारी नेपाली, बिष्णु नेपाली, मिनु विश्वकर्माले आफ्नो अनुभव मन्तव्य राख्नु भएको थियो । वडा भित्र रहेका दलित समुदायका २८ जना महिलाहरुको सहभागीता रहेको तालिममा तारा कुमारी शर्मा र सीता नेपालीले प्रशिक्षण दिनु भएको थियो । दलित उत्थान सञ्जाल वालिङ ५ का अध्यक्ष जित बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विनिता नेपालीले गर्नु भएको हाम्रा तिलक गुरुङले जानकारी दिनुभयो ।
